१२ श्रावण २०८१, शनिबार

पर्यटन बोर्डले उद्देश्यअनुसार काम गरेन : सांसद राणा

फाेर्स दैनिक

नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्यभन्दा बाहिर गएको आरोप लगाएका छन्।बिहीवार बसेको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उनले पर्यटन बोर्डको उद्देश्य स्पष्ट हुनुपर्ने बताए।

उनले पर्यटन बोर्डको मापदण्डअनुसार ६० प्रतिशत बजेट पर्यटन प्रवर्द्धनका लागि विदेशमा खर्च गर्नुपर्ने प्रावधान रहेको भन्दै सो बजेट खर्च भएको छ भन्दै प्रश्न गरे।उनले लण्डनको वर्ल्ड टावर मार्केट टुरिज्म फेयरमा ४० वर्षसम्म निरन्तर सहभागी भएको नेपाल यस वर्ष सहभागी हुन नसकेकोमा पर्यटन बोर्डसँग जवाफ मागे।

‘पर्यटन बोर्डको उद्देश्य के हो? उद्देश्यभन्दा बाहिर गएको छौँ कि छैनौँ? भन्नेमा केन्द्रित हुन जरुरी छ। तपाईंहरुको मापदण्डअनुसार ६० प्रतिशत बजेट टुरिज्म प्रमोट गर्नका लागि विदेशमा खर्च गर्नुपर्छ‚ खर्च भएको छ कि छैन ? लण्डनको वर्ल्ड टावर मार्केट टुरिज्म फेयरमा ४० वर्षसम्म नेपाल निरन्तर सहभागी भयो, यसपालि छैन‚ किन?‚’ उनले भने‚ ‘कम्तिमा ६० प्रतिशत रकम प्रमोशनमा खर्च हुनुपर्ने हो, त्यो खर्च नभएर सानोतिनो गाउँमा कहाँ मन्दिर बनाउने वा के गर्ने भन्नेमा गएको छ।’

सांसद राणाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौँ उपत्यकाका तीनवटै दरबार स्क्वायरमा सूचना डेस्क अहिले किन नराखेको प्रश्न गरे। विमानस्थलमा निजी क्षेत्रबाट सूचना डेस्क रहेको भए पनि सरकारी डेस्क नराख्नुको कारण मागे।

‘इन्फरमेसन डेस्क केही वर्षअघिसम्म विमानस्थल, काठमाडौँका तीनवटै दरबार स्क्वायरमा हुन्थे‚ अहिले छैन‚’ उनले भने‚ ‘एयरपोर्टमा इन्फरमेसन डेस्क छ तर निजीले चलाइरहेको छ। इन्फरमेसन डेस्क सरकारी तहबाट पनि हुनुपर्छ।’

 

१९ पुष २०८०, बिहीबार २१:१७ मा प्रकाशित
Nabintech