१२ श्रावण २०८१, शनिबार

भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण गर्न १० भारतले अर्ब अनुदान दिने

फाेर्स दैनिक

भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ।बिहीबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका बिचमा भएको ऊर्जा व्यापार सम्झौताअनुरूप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपियाँ अनुदान दिने भएको हो।

सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सो कुराको जानकारी दिनुभयो। उहाँले दुई देशका ऊर्जा सचिवबिचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताउनुभयो।

नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबिच नेपालले बनाएको म्यानुअल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ। त्यसैगरी काठमाडौँस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमति भएको उहाँले जानकारी दिनुभयो।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १३२ केबी पावर क्षमताका तीन वटा प्रसारण लाइनको उद्घाटन भएको बताउनु भयो। उहाँले भैरहवा, रक्सौल–परवानीपुरको सेकेण्ड सर्किट र कुसाहा–कटैता सेकेण्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपाल–भारतका बिचमा ऊर्जा आदानप्रदानमा ठुलो सहयोग पुग्ने बताउनुभयो।घिसिङले ट्रान्समिसन लाइनको सम्बन्धमा भोलि चितवनमा ऊर्जा सचिव तहको बैठक बस्ने पनि जानकारी दिनुभयो।

१९ पुष २०८०, बिहीबार २१:३६ मा प्रकाशित
Nabintech