१२ श्रावण २०८१, शनिबार

७७ लाखले गरे आन्तरिक हवाई यात्रा

फाेर्स दैनिक

सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान सुरक्षामा सुधार र हवाई पूर्वाधारमा भएको प्रगति, जहाज सङ्ख्यामा भएको बढोत्तरीसँगै गन्तव्य विस्तारले विगतका वर्षभन्दा यस वर्ष हवाई यात्रुको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “सन् २०२२ को ११ महिनामा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९४१ र अन्तर्राष्ट्रियतर्फ ७७ लाख ९४ हजार २१७ जनाले हवाई सेवा लिएका छन् । सन् २०२२ को तुलनामा सन् २०२३ को ११ महिनामा आन्तरिकतर्फ ३७ प्रतिशते हवाई यात्रु बढेका छन्,” उहाँले भन्नुभयो ।

सूचना अधिकारी भुलले सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१.०४ प्रतिशतले हवाई यात्रु बढेको जानकारी दिनुभयो । सन् २०१९ देखि सन् २०२२ को अवधिमा कोरोनाको असरले सबैभन्दा बढी नोक्सानी परे पनि उहाँले सन् २०२३ को मार्चदेखि (गृष्मकालीन उडान तालिका) हवाई क्षेत्र पुरानै लयमा फर्किएको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनापछि नेपालबाट वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि बिदेसिनेको सङ्ख्या र चीनका पाँच वटा गन्तव्यमा उडान विस्तारसँगै पर्यटकको ओहोरदोहोरले पनि हवाई यात्रुको सङ्ख्यामा प्रगति हुँदै गएको छ । उहाँले यसअघि दैनिक एक सयको हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा हाल दैनिक ११० अन्तर्राष्ट्रिय उडान अवतरण भइरहेको जानकारी दिनुभयो ।

प्राधिकरणको तथ्याङ्क अनुसार सन् २०२३ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४१ लाख ५४ हजार ३९३ यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन् । सन् २०२२ को सोही अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ लाख ४५ हजार ५४० जना यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका थिए ।

प्राधिकरणका अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको सङ्ख्या सन् २०२२ मा २९ रहेकामा हाल ३० पुगेको छ । हाल नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र प्राधिकरणले आन्तरिकतर्फ सञ्चालन अनुमति पाएका २१ मध्ये १९ वटा वायुसेवा कम्पनीले ३५ वटा विमानस्थलमा आन्तरिक हवाई सेवा दिँदै आएको छ । हाल देशमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलसहित ५५ वटा विमानस्थल छन् ।

प्राधिकरणका अनुसार पछिल्लो ११ महिनामा आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक सबैभन्दा बढी लुक्ला विमानस्थलमा ३४ हजार ६०३, पोखरामा १४ हजार ५९३, नेपालगन्जमा ११ हजार ६९८, विराटनगरमा १० हजार ७९५ र भैरहवामा आठ हजार ७८६, उडान अवतरण भएका छन् । सोही अवधिका सबैभन्दा कम रेसुङ्गा विमानस्थलमा छ, इलामको सुकिलुम्बा विमानस्थलमा ३०, खानीडाँडामा ३८र्, मा ४१, साँफेबगरमा ४६ र बझाङमा ५५ मात्रै उडान अवतरण भएको प्राधिकरणले जनाएको छ ।

सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य अनुरूप सन् २०२३ मा १० लाख एक हजार ८४४ विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए ।

 

२० पुष २०८०, शुक्रबार ०८:०१ मा प्रकाशित
Nabintech