१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : एमालेले सबै सिटमा उम्मेदवारी दिने

फाेर्स दैनिक

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भइआएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । त्यसैगरी बैठकले ६ जना नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका ५ जना नेताहरु कोशीबाट तुलसीप्रसाद न्यौपाने, वागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशको रामअवतार यादवलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । त्यसैगरी लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने बैठकले निर्णय गरेको महासचिव पोखरेलले बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘आज हामी राष्ट्रियसभाको निर्वाचनको सिलसिलामा उम्मेदवारको विषयमा छलफल गर्न बैठक बसेका थियौँ । २३ गते राष्ट्रिय सभाका लागि १९ वटा सिटका लागि मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । हामीले सातवटै प्रदेशको तर्फबाट त्यो प्रदेशमा रिक्त रहेका क्लष्टरका लागि प्रत्येक क्लष्टरमा ३ जनाको नाम सिफारिस गर्न अनुरोध गरेका थियौं । खासगरी आन्दोलनमा योगदान गरेका र सबै पक्षको विश्वास जित्न सक्ने व्यक्तिलाई सिफारिस गर्न भनेर अनुरोध गरेका थियौं ।’

हामीले क्लष्टरवाइज रुपमा नामका बारेमा छलफल गरेको उहाँले बताउनुभयो । अब कतिपय क्लष्टरहरुको प्रमाणिकरण गर्नुपर्नेजस्ता विषयहरु स्पष्ट हुनुपर्ने भएको कारणले हामी ती विषयमा आजको बैठकमा प्रारम्भिक छलफल भएको बताउनुभयो ।

‘केही नामहरुका सन्दर्भका बारेमा खासगरी क्लष्टर अन्तर्गत पर्ने, नपर्ने त्यो अन्तर्गतका प्रमाणित हुने, नहुने भन्ने विषय स्पष्ट भएर त्यसलाई २३ गतेका दिन हामी १९ वटै ठाउँहरुमा उम्मेदवारी दर्ताको तयारी गरेका छौं’ उहाँले भन्नुभयो, “हामीले हाम्रा प्रदेश अधिवेशनहरु सम्पन्न गरेका छौं । प्रदेश अधिवेशनहरु सम्पन्न भएपछि कतिपय प्रदेशका अध्यक्षहरु जिम्मेवारीबाट बाहिरिनुभएको छ । खासगरी ५ वटा प्रदेशका अध्यक्षहरु जिम्मेवारीबाट बाहिरिनु भएको छ ।”

त्यसैगरी एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालको भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाएको छ । त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ । महासचिव पोखरेलले भन्नुभयो, ‘भर्खरै भारतीय परराष्ट्रमन्त्री नेपाल भ्रमण गरेर फर्कनुभएको छ । दुई देशबिचको ज्वाइन्ट कमिसनको बैठक भनेर बैठकको आयोजना गरिएको र त्यहाँ के–के विषयमा छलफल भयो ? के–के विषयहरुमा सम्झौताहरु भए भन्ने कुरा सत्ता पक्षले प्रतिपक्षसँग परामर्श गर्नुपर्ने भए पनि नगरेकोमा बैठकले चिन्ता प्रकट गरेको छ ।’

नेपालको बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसावले कुनै काम नहुने बताउनुभयो । वैदेशिक सहायता नेपालको बजेटरी प्रणालीभित्रै हुनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता रहेको कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु, उहाँले भन्नुभयो ।

सर्लाहीको बरहथहवामा भएको घटनाबारे एमालेले दुःख प्रकट गरेको छ । नगर अस्पतालको क्षमता बिस्तारमा छलफल चलिरहेका बेला सत्तापक्षका कार्यकर्ताहरुले हुलदुंंगा गरेको उहाँले बताउनुभयो । सत्तापक्ष आफैँ यस्तो प्रकारको अराजक क्रियाकलाप प्रदर्शन गर्नु दुःखद भएको उहाँले बताउनुभयो । यस्ता गतिविधि र क्रियाकलाप तत्काल नियन्त्रण गरी जनताको जिउधनको रक्षा गर्न एमालेले माग गरेको छ ।

“सर्लाही घटनाको सन्दर्भमा जे क्षति भएको छ । त्यसप्रति हामी दुःख व्यक्त गर्दछौं । सरकारको अकर्मन्यता र जुनप्रकारको अराजक क्रियाकलाप भएको छ । त्यसकारणले एक जना युवाको ज्यान गएको छ । त्यसप्रति हामी हाम्रो पार्टीको तर्फबाट दुख व्यक्त गर्दछौंं” महासचिव पोखरेलले भन्नुभयो ।

२० पुष २०८०, शुक्रबार २०:१३ मा प्रकाशित
Nabintech