१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभा उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

फाेर्स दैनिक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । वर्तमान सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतभेद छ ।

यसअघि केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले त्यसबारे विभाजित धारणा राखेका थिए भने बैठकले अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनमा कांग्रेसका भागमा १० सिट परेकाे छ । जबकि सात प्रदेशबाट उम्मेदवारका आकाङ्क्षीहरूको सङ्ख्या भने चार सय हाराहारी छ । पार्टीभित्र असन्तुष्टि नहोस् भन्ने हिसाबले सिटको टुङ्गो लाग्ने बित्तिकै उम्मेदवार चयनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

२२ पुष २०८०, आईतवार ०७:३४ मा प्रकाशित
Nabintech