६ जेष्ठ २०८१, आईतवार

ब्याडमिन्टन खेलाडीलाई ललितपुर महानगरको सहयोग

फाेर्स दैनिक

ललितपुर महानगर र राष्ट्रिय खेलाडीहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ब्याडमिन्टन खेलको विकासका लागि राष्ट्रिय खेलाडीहरू रसिला महर्जन र प्रफुल्ल महर्जन र महानगरबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

महानगरप्रमुख चिरीबाबु महर्जनले ब्याडमिन्टन खेलको विकासका लागि यो समझदारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उहाँहरू राष्ट्रिय खेलाडी हुनुहुन्छ, महानगरको टेवाले ओलम्पिकमा पुग्न सहयोग मिलोस् भन्ने हाम्रो हेतु हो ।’’ आफूहरू बुद्धिले भ्याएसम्म खेलकुद क्षेत्रको विकास गर्न र खेलाडीलाई प्रोत्साहित गर्न काम गरेको बताउँदै उनले भने, ‘नयाँ अध्याय हो, शुभारम्भ हो, अन्त्य होइन ।’’

ब्याडमिन्टनका राष्ट्रिय खेलाडी प्रफुल्ल महर्जनले यो कार्यक्रमले आफूलाई प्रोत्साहित गरेको बताउनुभयो । खेलको माध्यमबाट देश र ललितपुर महानगरलाई चिनाउन सक्दो मिहेनत गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

महानगर प्रमुख महर्जनका सल्लाहकार पद्मबहादुर श्रेष्ठले महानगरले गरेको यो कामको खुलेर प्रशंसा गर्नुभयो । महानगरले खेलाडीलाई गरेको महत्त्वपूर्ण टेवा भएको दाबी गर्नुभयो । समझदारी पत्रमा उल्लेख भएअनुसार रशिला र प्रफुल्लले प्रदेश वा राष्ट्रिय प्रतियोगिताहरूमा महानगरले प्रयोग गर्दै आएको लोगो प्रयोग गर्नुपर्नेछ । महानगर भित्र रहेका मूर्त र अर्मूत सम्पदाहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने महानगरले जनाएको छ ।

ललितपुर महानगरले ब्याडमिन्टन खेलको विकास र प्रवर्द्धनका लागि महानगरले अनुरोध गर्दा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । दुई वर्षसम्म महानगरले जनही दुई जनालाई यी काम गरे बापत वार्षिक रूपमा जनही दुई लाख ५० हजार रुपियाँ दिनेछ । कार्यक्रममा ब्याडमिन्टन सङ्घ केन्द्रबाट धुव्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।

२३ पुष २०८०, सोमबार २०:५३ मा प्रकाशित
Nabintech