६ जेष्ठ २०८१, आईतवार

राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु

फाेर्स दैनिक

नेपाल भारोत्तोलन सङ्घको आयोजनामा मंगलबारदेखि २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ । प्रतियोगिताको मंगलबार नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले उद्घाटन गर्नुभयो ।

अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ, एसियन भारोत्तोलन महासङ्घ र नेपाल भारोत्तोलन सङ्घको नियम अनुसार सञ्चालित हुने प्रतियोगिता मध्यपुर ठिमीमा पुस २६ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगितामा विभागीय टोली र देशभरका गरी दुई सय ५० खेलाडीको सहभागिता रहेको सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिनुभयो ।

सहभागी खेलाडीले प्रतियोगितामा विभिन्न चार तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । जसमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, यूथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि र यूथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित २७० गरी कुल ५४० पदकका लागि प्रतिस्पर्धा हुने भारोत्तोलन सङ्घले जनाएको छ ।

२४ पुष २०८०, मंगलवार २०:४० मा प्रकाशित
Nabintech