१२ श्रावण २०८१, शनिबार

ललितपुरमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा जाडोको न्यानो कपडा वितरण

फाेर्स दैनिक

बाग्मती गाउँपालिका ५ इकुडोलमा अवस्थित श्री जनजागृती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाडोको न्यानो कपडा वितरण गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत लगनखेल शाखाको आयोजना र चापागाउँ उपशाखाको समन्वयमा विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिएको हो । पत्रकार समेत रहेका कम्पनीका चापागाउँ उपशाखा प्रमुख सन्तोष दहालले दक्षिण ललितपुरको भौगोलिक हिसाबले दुर्गम स्थानमा रहेको इकुडोलका विपन्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिएका छन् ।

दहालले आफैँले कक्षा ४ देखि १० सम्म अध्ययन गरेको विद्यालयमा हाल आफैँ कार्यरत संस्थामार्फत सहयोग उपलब्ध गराएका हुन् । न्यानो कपडा वितरण कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य तथा नेकपा एमालेको बाग्नती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेल, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ललितपुर शाखा कार्यालय प्रमुख भुवन केसी तथा अन्य प्रतिनिधि , बाग्मती गाउँपालिका ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज तिमल्सिना, पूर्व जनप्रतिनिधि तथा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका र विद्यार्थीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा प्रदेश सांसद मधुसूदन पौडेलले सामाजिक उत्तरदायित्त्व अन्तर्गत इन्स्योरेन्स कम्पनीले ग्रामीण भेगका विद्यार्थीलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप आवश्यक सहयोग उपलब्ध गराउनका लागि आग्रह गरे । इकुडोलजस्तो गाउँका विद्यालयमा धेरै किसिमका समस्याहरु रहेको भन्दै पौडेलले आफूले पनि प्रदेश सांसदको हैसियतमा विद्यालयम आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक पुण्डरिक दंगालले न्यानो कपडा वितरण गरी विद्यालयलाई सहयोग गर्ने संस्था सनलाईफ प्रती धन्यवाद व्यक्त गरे ।

साथै उनले विद्यालयमा खेलकुद, छात्रावास, पुस्तकालय लगायत धेरै कुराको समस्या रहेकोले त्यसको समाधानका लागि प्रदेश सांसद लगायत सम्बन्धितको ध्यानाकर्षण गराए । सन नेपाल लाईफ लगनखेल शाखा प्रमुख भुवन केसीले न्यानो कपडा वितरण कार्यक्रमले ग्रामीण क्षेत्रमा बिमा सचेतनाको समेत काम गर्ने र यसले सन नेपाल लाईफको व्यवसाय प्रवर्धनमा पनि जोड पुग्ने विश्वास व्यक्त गरे । सनलाईफ लगनखेल शाखाको आयोजनामा केही समयअघि उक्त विद्यालयमा बिमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो ।

२६ पुष २०८०, बिहीबार ०७:२८ मा प्रकाशित
Nabintech