६ जेष्ठ २०८१, आईतवार

राष्ट्रिय भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब उपाधि चुम्न सफल

फाेर्स दैनिक

सुर्खेतमा सम्पन्न ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।सशस्त्र प्रहरी बल (एपीएफ)सँगको आज भएको फाइनल खेलमा ३–१ तीन सेट जितेर नेपाल पुलिस क्लब उपाधि चुम्न सफल भएको हो। खेलको शुरुमा एपीएफले २५-२२ ल्याएर पुलिस क्लबलाई हरायो। पछि दोस्रो, तेस्रो र चौथो खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो।

पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अंक ल्याएको थियो। समूह चरणमा एपीएफसँग भोगेको हारमा पुलिस क्लबले आजको फाइनल खेलमा बदला लिँदै उपाधि नै हात पारेको छ। समूह चरणमा पुलिस एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो। त्यसैगरी समूह चरणको खेलमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको गण्डकी प्रदेशले तृतीय स्थानका लागि फाइनलमा आर्मीलाई हराएको छ।

आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो। पहिलो सेट गण्डकीले २५–२२ ले जित्यो। अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा बराबरीकै अवस्थामा अन्तिम समयमा २६-२४ अंक ल्याएर नेपाल आर्मीले जित्यो। तेस्रो खेलमा गण्डकीले २६-२४ र चौथो खेलमा २५–२२ ल्याएर तृतीय स्थान सुनिश्चित गरेको थियो।

पुस २० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसँगै सात प्रदेश गरी १० टोलीको सहभागी थिए। समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी तथा समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश थिए। खेलमा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल भलिबल संघको आयोजना तथा कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा वीरेन्द्रनगरमा सम्पन्न खेलको समापन कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी, आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललगायत सहभागी थिए।

कार्यक्रमको समापन गर्दै नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपालको भलिबल खेल विकास क्रमिकरूपमा बढ्दै गएको बताए। कर्णालीमा आगामी वर्षमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालनमा सघाउने उनले प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष चन्दका अनुसार आज मात्र प्रतियोगिता १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरे।

 

२६ पुष २०८०, बिहीबार २०:३३ मा प्रकाशित
Nabintech