१२ श्रावण २०८१, शनिबार

बम्जनलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश

फाेर्स दैनिक

बलात्कार आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको छ।न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बिहीबार थुनछेक बहसपछि बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशपछि बम्जनलाई जलेश्वर कारागार चलान भएका छन्।

बम्जनलाई प्रहरीले बुधबार राति मात्रै काठमाडौँबाट ल्याएर बिहीबार बिहान सर्लाही जिल्ला अदालतमा पेस गरेको थियो। बम्जनलाई सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटस्थित स्याङ्बो डाँडामा रहेको आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो।

ती बालिकालाई २०७३ साल साउन २० गते राति विभिन्न प्रलोभन देखाएर जबरजस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर, धाक, धम्की देखाइएको दायर मुद्दामा उल्लेख छ। घटना भएको बेला बालिका १५ वर्षको मात्रै थिइन्।

उनी १८ वर्ष भएपछि २०७६ साल माघ २३ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो। सर्लाही जिल्ला अदालतले सोही दिन बम्जनलाई पक्राउ गर्न अनुमति दिएको थियो।बम्जन फरार रहेपछि सरकारी वकिलको कार्यालय सर्लाहीले २०७७ सर्लाही असार १८ गते सर्लाही जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो। बम्जनविरुद्ध १२ देखि १४ वर्षसम्म सजायको माग दाबीसहित अभियोग दर्ता भएको छ।

विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले मङ्गलबार साँझ काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६, स्थित निवासबाट पक्राउ गरेको थियो। बम्जनलाई कडा सुरक्षाकाबिच बुधबार राति सर्लाही ल्याइएको थियो।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी बम्जनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने÷नआउने निश्चित नभएपछि राति नै सडक मार्ग भएर यहाँ ल्याइएको हो। बम्जन पत्थरकोट स्याङ्बो डाँडास्थित आश्रममा केही वर्ष बसेका थिए।

स्थानीयका अनुसार बम्जनको आश्रम अहिले भने सुनसान छ। कहिलेकाहीँ केही अनुयायी आउजाउ गर्ने गर्छन्। बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सर्लाही प्रहरीले पत्थरकोटमा रहेको सो आश्रममा पटक–पटक छापा मारेको थियो।

२६ पुष २०८०, बिहीबार २०:४१ मा प्रकाशित
Nabintech