२४ बैशाख २०८१, सोमबार

माघ महिनामा विदेशी लगानी प्रतिबद्धता घट्यो

फाेर्स दैनिक

चालु आर्थिक वर्षको माघ महिनामा विदेशी लगानी प्रतिबद्धतामा आधाले कमी आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको पुस महिनाको तुलनामा माघ महिनामा विदेशी लगानी प्रतिबद्धता आधाले घटेर १५ वटा परियोजनामार्फत ३४ करोड ५० करोड रुपियाँमा झरेको छ ।

पुस महिनामा २७ वटा परियोजनामा एक अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपियाँ प्रतिबद्धता आएको थियो । मङ्सिर महिनामा २१ वटा परियोजनाका लागि दुई अर्ब २५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । यस्तै कात्तिक महिनासम्म २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।

गत असोज महिनामा ४० परियोजनामार्फत एक अर्ब ९८ करोड रुपियाँको प्रतिबद्धता आएको थियो । अघिल्लो भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ६९ करोड रुपियाँको प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० परियोजनामार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानी प्रतिबद्धता पर्यटन, सूचनामूलक र सेवा क्षेत्रमा बढी आउने गरेको छ ।

चालु आवको सात महिनामा (साउन–माघ) सम्म २४१ परियोजनामार्फत २२ अर्ब ६८ करोड १५ लाख रुपियाँ प्रतिबद्धता आएको छ । सो अवधिमा पर्यटन क्षेत्रमा १०८, सेवा क्षेत्रमा ८६, उत्पादनमूलक क्षेत्रमा २८ र सूचना प्रविधिमा आठ वटा लगानी प्रतिबद्धता आएका छन् ।

सुरुदेखि हालसम्म छ हजार ९८ परियोजनामार्फत चार खर्ब ७२ अर्ब ५८ करोड ९९ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताको न्यून रकम मात्र नेपालमा भित्रिने गरेको छ ।

२ फाल्गुन २०८०, बुधबार ०७:०५ मा प्रकाशित
Nabintech