२४ बैशाख २०८१, सोमबार

अर्गानिक तरकारी बिक्री केन्द्र सञ्चालन

फाेर्स दैनिक

नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ ।

नेपालगन्ज र सो वरिपरिका किसानले उत्पादन गरेका अर्गानिक तरकारी सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष कौशलकुमार धोबीले बताउनुभयो ।

उहाँले स्थानीय किसानले उत्पादन गरेको प्राङ्गारिक तरकारी बिक्री केन्द्र नहुँदा उत्पादन खेर गइरहेको र स्थानीय उपभोक्ताले भारतबाट भित्र्याइएका विषादी हालेका तरकारी खानुपर्ने बाध्यता रहेको गुनासोलाई सम्बोधन गर्न सो तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।

एमडिएम फ्रान्स तथा भेरी वातावरणीय विशिष्ठता समूह बी–ग्रुपको साझेदारीमा सञ्चालनमा रहेको पेसागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको सहयोगमा सो सङ्कलन तथा बिक्री केन्द्रको निर्माण गरिएको हो ।

सो केन्द्र निर्माणमा एमडिएम फ्रान्स र बी ग्रुपबाट करिब १३ लाख, पाँच लाख नेपालगन्ज उपमहानगर वडा नम्बर २० र करिब एक लाख साथी स्वावलम्बन बहु उद्देश्यीय सहकारी संस्थाको लगानी रहेको छ ।

बी ग्रुपका अध्यक्ष टेकबहादुर पुनले सो बिक्री केन्द्र निर्माणका लागि परियोजनाले १५० जना किसानलाई प्राङ्गारिक खेतीमा संलग्न गराई उनीहरूको उत्पादनको बजारीकणका लागि यो केन्द्र निर्माण गरिएको बताउनुभयो ।

उहाँले यो केन्द्र निर्माण भएपछि यस क्षेत्रका अन्य किसानले पनि आफ्ना उत्पादनको बजारीकरण सहज रूपमा गर्न पाउने बताउनुभयो । परियोजनाले भण्डारण कक्षसमेत स्थापना गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि आफूहरू जस्ता किसानको उत्पादनले बजार पाउनेमा ढुक्क भएको प्राङ्गारिक खेतीमा लागेका स्थानीय किसानको भनाइ छ ।

१० फाल्गुन २०८०, बिहीबार ०७:२० मा प्रकाशित
Nabintech