१२ श्रावण २०८१, शनिबार

देशभरका २९३ नगरपालिकामध्ये सर्वोत्कृष्ट कार्य गरेको भन्दै गोदावरी सम्मानित

फाेर्स दैनिक

नेपाल नगरपालिका संघले गोदावरी नगरपालिकालाई सहरी योजना, पूर्वाधार विकास र विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेकोमा पुरस्कृत गरेको छ । संघले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरेको हो । नेपाल नगरपालिका संघले अन्य ४ विधामा अन्य नगरपालिकालाई पनि पुरस्कृत गरेको छ ।

संघीय मामिला मन्त्री भानुभक्त जोशीले गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । आर्थिक वर्ष २०७९ /८० मा गोदावरी नगरपालिकामा भएको कामको मूल्याङकन गरी सहरी योजना, पूर्वाधार विकास र विपद व्यवस्थापनको क्षेत्रमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।

२०७३ सालमा स्थापना भएको गोदावरी नगरपालिकाले गरेको कामको मुल्याङ्कन संविधानविद् काशीराज दाहालको संयोजकत्वमा गठित समितिले गरेको थियो । गत आइतबार गोदावरी नगरपालिकाले आफ्नो आठौँ स्थापना दिवस मनाएको थियो ।

स्थापनाको छोटो अवधिमा नै गोदावरी नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य काम गरेको छ । यसैगरी नगरपालिकाले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखरे काम गरेको छ । नगरपालिकाले आफ्नै स्रोतबाट कलात्मक ढंगबाट प्रशासनिक भवन निर्माण गर्नुका साथै इन्जिनियरिङ क्याम्पसको भवन निर्माण कार्य अन्तिम चरण पुगेको छ । यसैगरी सडक पूर्वाधार निर्माणपनि पालिकाको स्रोतसाधनले भ्याएसम्म उल्लेख्य काम गरेको छ ।

नगरपालिकाभित्र राम्रो काम गर्न सहयोग गर्ने, हौसला दिने नगरभित्रका सम्पूर्ण नगरवासी, जनप्रतिनिधि र कर्मचारी लगायत सम्पूर्णको महत्वपूर्ण भूमिका रहेको भन्दै नगर प्रमुख गजेन्द्र महर्जनले सबैमा धन्यवादज्ञापन गर्दै कृतज्ञता व्यक्त गरे । नगरपालिकाले कला संस्कृति र पर्यापर्यटनमा पनि उल्लेख्य काम गरिरहेको बताउँदै गोदावरीलाई समुन्नत नगर बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी यस विधामा सुदुर पश्चिमको भीमदत्त नगरपालिका पनि सम्मानित भएको थियो । संस्थागत सुधार वित्तिय सुशासन कायम गर्ने नगरपालिकामा दाङको घोराही उपमहानगरपालिका सम्मानित भएको छ ।

स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा रुपन्देहीको वुटवल नगरपालिका सम्मानित भएको छ । त्यसैगरी सामाजिक विकासको क्षेत्रको उत्कृष्ट कार्य गरेकोमा रौतहटको गौर नगरपालिकालाई सम्मानित गरिएको थियो । वन वातावरण जलवायु परिवर्तन र विपद व्यवस्थापन न्यूनीकरण विधामा उत्कृष्ट काम गरेका चितवनको रक्तनगर नगरपालिका र रुकुमको चौरजहादी नगरपालिका सम्मानित भएका छन् ।

३० फाल्गुन २०८०, बुधबार ०६:५० मा प्रकाशित
Nabintech