२४ बैशाख २०८१, सोमबार

गठबन्धनले पार्टीभित्र आत्मविश्वास कमजोर : महामन्त्री थापा

फाेर्स दैनिक

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनका कारण पार्टीभित्र आत्मविश्वास कमजोर बन्दै गएको बताउनुभएको छ ।शनिबार बाँकेको राप्तीसोनारीस्थित अगैयामा भएको संवाद यात्रालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनु भएका महामन्त्री थापाले गठबन्धन गरेर कांग्रेसले मतदाताको अविचलित आस्थालाई विकृत बनाएको पनि बताउनुभयो ।

महामन्त्री थापाले कम्युनिष्टहरु मिल्ने डर र सरकारमा जाने रहरले यसअघि गठबन्धनमा गएको मनोविज्ञान चित्रण गर्दै अब उप्रान्त गठबन्धन नगरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘गठबन्धन गरेर हामीले हाम्रा मतदाताको अविचलित आस्थालाई विकृत बनाएका छौं । जहाँबाट कमजोरी भयो अब त्यहीँबाट सच्चिएर हिंड्नुपर्छ । नेपाली कांग्रेस अब आफ्नो पवित्रता, मौलिकता र पहिचान बोकेर एक्लै चुनाव लड्छ ।’’

समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको अगैयामा शनिबार भएकोसंवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले गुम्दै गएको आत्मविश्वास जागृत गर्ने गरी काम गर्नुपर्ने बेला आएको बताउनुभयो।

उहाँले भन्नु भयो, ‘‘पार्टीका कार्यकर्तामा ठूलो निराशा छ । आत्मविश्वास गुमाएको अवस्था छ । अब हामी विश्वास जगाउने गरी अगाडि बढौं । केही हुँदैन भन्ने भाष्य बदलौ । कांग्रेस अब एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन, सबै मिल्दा पनि विचलित नभएर लाग्छ । त्यसैले आत्मविश्वास जगाएर अगाडि बढ्नुस । संगठनमा काम गर्नुस् ।’’

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसीको सभापतित्वमा भएको संवाद कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, प्रकाश स्नेही, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

महामन्त्री थापाले त्यस अघि सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुभएको थियो । उहाँले अगैयास्थित हेडवक्र्सको अवलोकन गर्नु भयो । सिक्टाको कार्यप्रगति र समस्याबारे आयोजना प्रमुख देवराज निरौलाले जानकारी गराउनुभएको थियो ।

 

१८ चैत्र २०८०, आईतवार ०६:४० मा प्रकाशित
Nabintech