२४ बैशाख २०८१, सोमबार

लगानी सम्मेलनको तयारीका कामलाई तीव्रता, चालिस देशका राजदूतसँग छलफल

फाेर्स दैनिक

सरकारले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका कामलाई तीव्रता दिएको छ । खास गरी लगानी सम्मेलनमा प्रतिष्ठित र सम्भावित लगानीकर्ता भित्र्याउने उद्देश्यसहित अर्थ मन्त्रालयले नेपालस्थित दातृ निकायका प्रमुख र विभिन्न मुलुकका राजदूतसँग भेटघाट र छलफललाई निरन्तरता दिइरहेको छ ।

लगानी सम्मेलनको निर्देशक समितिको संयोजकसमेत रहनुभएका अर्थमन्त्री वर्षमान पुनले विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरू र कूटनीतिक नियोग प्रमुखसँग एकै पटक छलफल गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको भर्चुअल बैठकमा सम्मेलनमा सहभागी हुने लगानीकर्ताको सूची पठाउन आग्रह गर्नुभएको थियो ।

बैठकका क्रममा उहाँले अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिनुभयो । “लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरवको विषयसँग जोडिएको छ,” अर्थमन्त्रीले भन्नुभयो “सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नूस् ।” विदेशी विकास साझेदार, ठुला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वलाई यसअघि नै निम्ता पठाइसकिएकाले सम्मेलनमा आउन निश्चित भएकाहरूको सूची तयार पारेर पठाउन उहाँले आग्रह गर्नुभयो ।

लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको सो क्रममा उहाँले जानकारी दिनुभयो । त्यसका लागि एक दर्जनभन्दा बढी कानुन संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको कुरा लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी गराउन अर्थमन्त्रीले आग्रह गर्नुभयो । “१२ वटा कानुन र कतिपय द्विपक्षीय समझदारीहरू गर्ने कुरामा पनि छलफल चलिरहेको छ,” उहाँले भन्नुभयो “लगानीमैत्री कानुन बनाउन भइरहेका प्रयास बारे लगानीकर्ता र सरकारी एजेन्सीलाई भन्नूहोस् ।”

यस्तै मन्त्री पुनले सरकारको मूल नेतृत्व उही रहेको र केही मन्त्रीहरू मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताउनुभयो । गैरआवासीय नेपालीले आर्जन गरेका ज्ञान, सिप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले सो समुदायमा पनि यो सन्देश प्रवाह गर्न राजदूतहरू र नियोग प्रमुखहरूलाई अनुरोध गर्नुभयो । भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरूमा भइरहेका पूर्वतयारीका कामलाई थप तीव्रता दिन पनि मन्त्री पुनले आग्रह गर्नुभयो ।

मुख्यसचिव बैकुन्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टसमेत सहभागी उक्त भर्चुअल बैठकमा संयुक्त राज्य बेलायत, अस्ट्रेलिया, जर्मनी, बङ्गलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियालगायतका देशमा रहनुभएका नेपाली राजदूत तथा नियोग प्रमुखको सहभागिता थियो ।

१८ चैत्र २०८०, आईतवार ०६:४३ मा प्रकाशित
Nabintech