५ जेष्ठ २०८१, शनिबार

कान्तिलोकपथ सडक दिनमा ३ घण्टामात्रै खुल्ने

फाेर्स दैनिक

काठमाडौंबाट हेटौंडा जाने कान्तिलाेकपथकाे सडक दिनमा ३ घण्टा मात्रै खुला रहने भएको छ । मर्मतसम्भारका लागि ४५ दिनदेखि बन्द रहेकाे कान्तिलाेकपथ मर्मतसम्भारकाे काम बाँकी नै रहेकाेले अहिलेलाई ३ घण्टा मात्रै सवारी साधन आवतजावतका लागि खुला रहने आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रबिन्द्र महर्जनले जानकारी गराउनुभयाे ।

“मर्मत सम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेबाट बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा मात्रै सवारी आवतजावतका लागि खुला रहने छ । मर्मत सम्भारकाे काम बाँकी नै रहेकाेले काम जारी राख्ने निर्णय भएको छ। अब दुई सिफ्टमा काम गरेर छिटै सम्पन्न गर्ने तयारी छ।” ईन्जिनियर महर्जनले भन्नुभयो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा यही बैशाख १४ गते जिल्ला प्रसाशन कार्यालय ललितपुरमा बसेको बैठकले तिनपानेदेखि काल्चे बगुवा खण्डमा पर्ने चेनेज कटिङ्गसहितको निर्माण कार्यकालागि बिहान ४ बजेदेखि ९ बजेसम्म र दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेसम्म दुई सिफ्टमा काम गर्नका लागि जेठ १५ गतेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेकाे हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्याबश्यक सेवाका यातायातहरुलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय समेत गरेको छ । बैठकले उक्त सडक खण्डमा ६ चक्के र साे भन्दा बढिमा मालबाहक सवारी सञ्चालनमा पूर्णरूपमा राेक लगाउने निर्णय समेत गरेकाे छ ।

“यो खण्ड करिब १ दशमलब ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँहरुमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टानहरु कटिङ्ग गर्ने निर्णय भएको छ । यसका लागि  चैत १ गतेबाट ४५ दिन बन्द गरिएको सडक थप ३० दिनका लागि बन्द नै राखेर मर्मत सम्भारका काम जारी राख्न लागिएको हाे ।” महर्जनले भन्नुभयो ।

काठमाडौलाई हेटौडासंग जोड्ने उपयुक्त र दूरीका हिसावले छोटो मानिएको याे निर्माण थालिएको ६७ वर्ष भैसकेको छ । सडक निर्माणका लागि सेनाको नेतृत्वमा २०१३ मा ट्रयाक खन्न सुरु गरिएको थियो । यो काम २०१६ मा सकियो । त्यतिवेलै ट्रयाक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोकदेखि जिपमा ललितपुरको टीकाभैरवसम्म आउनुभएको थियो । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ ।

विगतका सरकारले याे सडक निर्माणका लागि प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ ।

कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि—टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भएपनि स्थानीयहरुको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टिकाभैरबबाट छम्पी भैसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टिकाभैरब खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।

१५ बैशाख २०८१, शनिबार १२:४६ मा प्रकाशित
Nabintech