५ जेष्ठ २०८१, शनिबार

उपत्यकाव्यापी अन्तर पालिका मेयर कप सुरु,  उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका विजयी 

फाेर्स दैनिक

झ्यालुन्टारमा प्रथम उपत्यकाव्यापी अन्तर पालिका मेयर कप सुरु,

उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका विजयी

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।

नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टिमलाई हराएको छ ।

पेनाल्टि सुट आउटमा गोदावरीलाई ४–२ गोल अन्तरले हराउँदै महालक्ष्मीले क्बार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

महालक्ष्मीका लागि सिद्धान्त अधिकारी , निसान राउत, सरोज राई र निसान बस्नेतले १–१ गोल गरे ।

पराजित गोदावरीका लागि सुबास तामाङ र सायर तामाङले एक–एक गोल गरे । गोदावरीका लागि सुरुवाती २ पेनाल्टि गोलमा परिणत हुन सकेन ।

निराजन मर्हजन र वाङ्गेल लामाले हानेको बलले जाली चुम्न सकेन ।

खेलमा गोदावरीको २ पेनाल्टि रोकेका महालक्ष्मीका गोलकिपर आर्यन मर्हजन म्यान अफ दि म्याच भए । उनले यसबापत नगद ५ हजार पनि पाएका छन् ।

यसअघि निर्धारित ९० मिनेटसम्मको खेल बराबरी भएपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो ।

अब सेमिफाइनल प्रवेशका लागि आगामी बैशाख २१ गते महालक्ष्मीले दक्षिणकाली नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

दक्षिणकाली सिधै बाई पाएर क्बार्टरफाइनलमा पुगेको हो ।

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

उद्घाटन अघि नवनिर्मित झ्यालुन्टार खेल मैदानको शुभारम्भ पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभएको थियो ।

गोदावरी नगरपालिकाको बि टिमले बैशाख १९ गते ललितपुर महानगरपालिकासँग खेल्नेछ ।

आईतबार प्रतियोगितामा २ खेल हुँदैछन् । साढे १२ बजे हुने पहिलो खेलमा कोन्ज्योसोम गाउँपालिका र नागार्जुन नगरपालिका भिड्नेछन् भने अर्को खेलमा चन्द्रागिरी नगरपालिका र बाग्मती गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा काठमाडौं जिल्लाको ८ स्थानीय तहको ८ टिम तथा ललितपुर जिल्लाको ५ स्थानीय तहको ६ टिम रहेका छन् । यसैगरी भक्तपुर जिल्लाको एक स्थानीय तहबाट १ टिम गरी १५ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा काठमाडौंका काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिकाले भाग लिएका छन् ।

१० नगरपालिका र १ महानगर रहेको काठमाडौंबाट गोर्कणेश्वर, कागेश्वरी–मनोहरा र शंकरापुर नगरपालिकाले सहभागीता जनाएका छैनन् ।

ललितपुर जिल्लामा रहेका ६ स्थानीय तहमा महाङ्काल गाउँपालिकाले प्रतियोगितामा सहभागीता जनाएको छैन भने आयोजक गोदावरीसहित ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, बाग्मती गाउँपालिका र कोन्ज्योसोम सहभागी छन् ।

आयोजक गोदावरी नगरपालिकाको ए र बि गरी २ वटा टिम रहेको छ ।

भक्तपुरमा रहेका ४ नगरपालिकामध्ये मध्यपुर ठिमी नगरपालिकाले मात्र सहभागिता जनाएको छ । भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्य विनायक नगरपालिका यो प्रतियोगितामा सहभागी छैनन् ।

१५ बैशाख २०८१, शनिबार २०:२७ मा प्रकाशित
Nabintech