१२ श्रावण २०८१, शनिबार

शिखरपूरमा क्याेकुशिन कराते डाेजाे सञ्चालनमा 

फाेर्स दैनिक

मकवानपुरकाे बकैया गाउँपालिका वडा नं. ९ मा शिखरपूरमा क्याेकुशिन कराते डाेजाे सञ्चालनमा आएकाे छ ।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले शुक्रबार शिखरपूर फुलकन्ट्याक इन्कोर्पाेरेटेड क्योकुशिन कराते फाउन्डेशन डाेजाेकाे उद्घाटन गर्दै सञ्चालनमा आएकाे जानकारी गराउनु भएको हाे । गाउँगाउँमा कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ नेपाल फुलकन्ट्याक इन्कोर्पाेरेटेड क्योकुशिन कराते फाउन्डेशनले आफ्नो शाखा शुक्रबारबाट डाेजाे सञ्चालनमा ल्याएको हाे ।

शाखा डाेजाे सञ्चालन गर्नुहुँदै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले संघीय सरकारले दिने बार्षिक बजेट कम भएको हुँदा सबै क्षेत्रमा सन्तुष्ट हुने गरि जनअपेक्षा अनुरुप बजेट बिनियाेजन गरेर समस्यालाई सम्बाेधन गर्न गाह्रो परिरहेको बताउनुभयो । ” हामीसँग स्थानीय आम्दानी कम छ, संघीय सरकारले दिने बजेटले सबै काम गर्न बजेट पर्याप्त छैन, तर पनि हामीले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेका छाैं। पूर्वाधारकाे विकास र खेलकुदलाई बराबर हैसियतमा बजेट उपलब्ध गराइरहेका छाैं।” अध्यक्ष लामिछानेले भन्नुभयो ।

उहाँले याे क्षेत्रमा खेलकुदकाे डाेजाे सञ्चालनबाट स्थानीय क्षेत्रकाे विकास, अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सक्ने खेलाडीहरु तयार पार्न महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गर्नुभयाे । उहाँले खेलकुदकाे नियमित अभ्यासले खेलाडीहरुलाई स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुँदै गाउँपालिकाकाे क्षमता अनुसार सहयाेग उपलब्ध गराउने बताउनुभयो ।

 

नेपाल फुलकन्ट्याक इन्कोर्पाेरेटेड क्योकुशिन कराते फाउन्डेशनलका ब्रान्चचिफ सिहान जय देसारले डाेजाेकाे सुरुवातबाट गाउँगाउँमा करातेका खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा किर्तिमान राख्न सक्ने खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गर्नुभयाे। उहाँले यस डाेजाेबाट दैनिक रुपमा नियमित खेल अभ्यास गर्ने प्रतिभावान खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर मिलाउने बताउनुभयो ।

बकैया गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष टंकध्वज लाेप्चनले खेललाई निरन्तरता दिन आग्रह गर्दै त्यसका लागि वडा र गाउँपालिकाबाट सहयाेग र समन्वय गर्ने र वडाबाट गर्नुपर्ने सहयाेग निरन्तर गर्ने बताउनुभयो । उहाँले  डाेजाेकाे सुरुवातले यहाँका खेलाडीहरुलाई अवसरकाे सृजना गरेको बताउँदै सबैजना मिलेर लाग्दा लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

बकैया गाउँपालिका खेलकुद विकास समितिका संयाेजक बिजय लामाले राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता गरेर गाउँपालिकाकाे विकासका लागि सहयाेग गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियानकाे प्रशंसा गर्दै पालिकाबाट सक्दाे सहयाेग र समन्वय उपलब्ध गराउने बताउनुभयो ।

डाेजाेका अध्यक्ष जयराम घलेले खेलाडीहरुकाे आत्मरक्षाका लागि खेलकाे अनुशाशन कायम गर्दै उनीहरुको ज्ञान, सीप, दक्षता अभिबृद्धिमा रचनात्मक ढंगले गतिविधिहरु सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकास्थित नेपाली कांग्रेस, नेकपा एमालेका स्थानीय प्रतिनिधिहरुलगायतले शुभकामना व्यक्त गर्नुभएको थियाे। —

६ जेष्ठ २०८१, आईतवार ०६:०७ मा प्रकाशित
Nabintech