१० माघ २०८१, बिहीबार

अर्थतन्त्रमा सुधार आएको एमालेको निष्कर्ष

फाेर्स दैनिक

सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको बताउनुभएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा एमाले र नेपाली कांग्रेसबिच भएको नयाँ राजनीतिक कोर्सको आवश्यकता, औचित्य र अवसर, गठबन्धनपछिका ६ महिनाका सन्दर्भमा समिक्षा गरिएको छ। समिक्षामा मुलुकको अर्थतन्त्रमा सुधार आएको निस्कर्ष निकालिएको छ ।

उहाँले बैठकमा यस अवधिमा अस्थिरता, अराजकता र प्रायोजित निराशाको प्रयास, बदलिँदो विश्व परिवेश, नेपालको परराष्ट्र नीति, स्थानीय तहको उपनिर्वाचन एवम् निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले अध्यक्ष ओलीको प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश दिइएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको तथा अर्थतन्त्रमा सुधार आएको विषय उल्लेख छ ।

यसका साथै, संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रका बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमित्तामा सङ्लग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धिहरु प्रतिवेदनमा समावेश रहेको उहाँले जानकारी दिनुभयो ।

 

बैठकको सुरुवातमै प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले देश विशेष परिस्थितीबाट गुज्रिरहेको र देशभक्त तथा प्रगतिशील शक्ति मजबुत बन्दै गएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएर अस्वस्थ र झुठो प्रचारको हमलामा उत्रिरहेको बताउनुभएको गौतमले जानकारी दिनुभयो । अध्यक्ष ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो नबनाउने तथा अराजकताको अन्त्य गर्नुपर्ने विषयमा जोड दिनुभएको उहाँको भनाइ छ ।

उहाँले बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयताका पोलिट्ब्यूरो र केन्द्रीय सचिवालय बैठकबाट भएका निर्णयहरु सर्वसम्मतिले अनुमोदन गरिएको जानकारी दिनुभयो । एमाले बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आजदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको र यो क्रम सोमबासम्म चल्ने उहाँको भनाइ छ ।

२१ पुष २०८१, आईतवार २०:४५ मा प्रकाशित
Nabintech