९ माघ २०८१, बुधबार

एन्फा राष्ट्रिय महिला लिग : बहुप्रतिक्षित एपीएफ र पुलिसको खेल आज

फाेर्स दैनिक

 

एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज बहुप्रतिक्षित खेल हुँदै छ।विभागीय डर्बीअन्तर्गत एपिएफले नेपाल पुलिस क्लबको सामना गर्नेछ। साविक विजेता एपीएफ र पुलिसको खेल आज दिउँसो ३ बजे एन्फा मुख्यालय मैदानमा सुरु हुनेछ।

पछिल्ला दुई खेलमा एपिएफले विपक्षी पोस्टमा १४ गोल गरेको छ। उपाधिको बलियो दाबेदार एपिएफको वास्तविक परीक्षा आज नै हो। बागमती युथ क्लब र वालिङ नगरपालिकाविरुद्ध आक्रामक खेल प्रस्तुत गरेको एपिएफ विभागीय प्रतिद्वन्द्वीविरुद्ध पनि यही रणनीतिअनुसार मैदान उत्रने योजनामा छ।

‘पुलिस र आर्मी दुवै राम्रा टोली हुन्। जसरी हामीले यो लिगमा खेल्दै आएका थियौं, त्यसरी नै खेल्ने योजना छ,’ एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे भने।

एपिएफले पछिल्लो खेलमा वालिङविरुद्ध ९–० को फराकिलो जित निकालेको थियो। लिगको सर्वाधिक गोलकर्ताको दौडमा शीर्षस्थानमा रहेकी रश्मिकुमारी घिसिङले दोस्रो चरणको पहिलो खेलमा बागमतीविरुद्ध ह्याट्रिक गरेकी थिइन्। यो लयलाई रश्मिले दोस्रो खेलमा पनि निरन्तरता दिइन्। यसपालि उनले चार गोल गरिन्।

पुलिस जारी लिगमा एक गोल पनि नखाने टोलीमध्ये एक हो। राष्ट्रिय टोलीकी वैकल्पिक गोलकिपर उषा नाथ अहिलेसम्म ‘बिट’ भएकी छैनन्। एपिएफ फरवार्डलाई पुलिसको यो लय तोड्ने चुनौती हुनेछ। यसका लागि उनीहरूले राष्ट्रिय टोलीका सिनियर खेलाडी अमृता जैसीको रक्षापंक्ति तोड्नुपर्ने हुन्छ। अमृतालाई साथ दिइरहेकी छन् राष्ट्रिय टोलीका अर्की सदस्य समिक्षा घिमिरेले।

बलियो एपिएफविरुद्ध प्रशिक्षक भोलानथ सिलवालले जित निकाल्ने योजना रहेको सुनाए। पहिलो चरणमा पुलिसले एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो। यसपालि पनि प्रशिक्षक सिलवाल एपिएफलाई जित्न नदिने दाउमा छन्।

२५ पुष २०८१, बिहीबार ०७:५८ मा प्रकाशित
Nabintech