२८ माघ २०८१, सोमबार

नेपाल–भारत सुरक्षा अधिकारीको समन्वय बैठकमा के छलफल भयो ?

फाेर्स दैनिक

नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न भएको छ।

भारत बहराईचको प्रमुख जिल्ला अधिकारी (डीएम) को कार्यालयले आयोजना गरेको समन्वय बैठकमा भारतको बहराईच र नेपालको बाँके तथा बर्दिया जिल्लाका सुरक्षा अधिकारीको सहभागिता रहेको थियो।

बैठकमा भारतमा आयोजना गरिने लागिएको महाकुम्भ मेलाको तयारी र सुरक्षा लगायत भारतको गणतन्त्र दिवस २६ जनवरीका अवसरमा हुने कार्यक्रमको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै विभिन्न विषयमा छलफल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो।

उहाँले बैठकमा सीमा क्षेत्रमा भइरहेका लागु औषध ओसारपसार, मानव बेचबिखन, वन्यजन्तु र वन पैदावर चोरी तस्करी लगायत अन्य अपराधिक गतिविधिको रोकथाम र निराकरणका उपायका विषयमा पनि विस्तृत छलफल भएको बताउनुभयो।

बैठकमा दुवै देशका अधिकारीले सीमा अपराध रोकथामका लागि समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनका लागि विशेष योजना प्रस्तुत गर्नुभयोे। मानव बेचबिखन र लागु औषध तस्करीजस्ता अन्तर्राष्ट्रिय अपराधका घटनालाई रोक्न सीमा सुरक्षालाई मजबुत बनाउने सहमति सो अवसरमा गरिएको जनाईएको छ।

त्यसैगरी, वन्यजन्तु र वन पैदावारको अवैध तस्करीलाई रोक्न सुरक्षा निकायबीच सूचनाको आदान–प्रदानलाई बलियो बनाउनुका साथै सीमा क्षेत्रको सुरक्षालाई थप व्यवस्थित र प्रविधियुक्त बनाउने कुरामा विशेष जोड दिइएको थियो।

बैठकमा नेपालको तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा, बर्दियाका प्रहरी प्रमुख एसपी केदार खनाल, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी बिमल डाँगी, सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाका प्रमुख एसपी चित्रांग दाहाल, बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप बुढाथोकी र जमुनाहा नाका प्रहरी प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथाकीको सहभागिता रहेको थियो।

भारतको तर्फबाट बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीएम) मोनिका रानी, प्रहरी प्रमुख एसपी रामनयन सिंह, एसएसबीको ४२ औं बटालियनका डिप्टी कमाण्डेन्ट पार्थ सारथी राय, ५९ औं बटालियनका अभिनव कश्यप, ७० औं बटालियनका सचिन कुमार, रुपैडिहा कस्टम प्रमुख दिनेश धमिजा, रुपैडिहा थाना प्रमुख ददनसिंह, सीमावर्ती क्षेत्रका थाना प्रमुख, तहसिल प्रमुखलगायत सडक कार्यालय, यातायात कार्यालय र वन कार्यालयका प्रमुखको सहभागिता रहेको थियो।

सो अवसरमा भारतीय सुरक्षा अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई महाकुम्भको निमन्त्रणा समेत दिनुभएको थियो।

२८ पुष २०८१, आईतवार २०:४२ मा प्रकाशित
Nabintech