जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार तीन प्रदेशका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतवार साँझ जारी गरेको पूर्वानुमान बुलेटिनका अनुसार आइतवार राति कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।
विभागका अनुसार आइतबार राति मधेश प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसम मुख्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी सोमबार दिउँसो कोशी, बागमती र गण्डकी गरी तीन प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँमा हिमपातको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मौसम सफा रहने विभागले बताएको छ।
यसैगरी माघ १ गते मंगलवार देशभरको मौसम मुख्यतया सफा रहनेछ।
विभागका अनुसार त्यो दिन कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।