भारतबाट नेपालगन्ज नाकामा चिनीको आयात अत्यधिक वृद्धि भएको छ। विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेका थिए, तर अहिले यी सबै वस्तुको आयातमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा नेपालगन्ज नाकाबाट यी वस्तुहरूको आयातमा उल्लेखनीय वृद्धि भएको हो।
गत वर्ष सबैभन्दा धेरै घटेको चिनीको आयात हालको वर्षको सोही अवधिमा १६ गुणा वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार, गत आव २०८०/८१ को छ महिनामा ८४ लाख ७३ हजार रुपियाँको चिनी आयात भएको थियो भने चालु आवको सोही अवधिमा १४ करोड १२ लाख ९२ हजार रुपियाँको चिनी आयात भएको छ।
गत आवको छ महिनामा चिनी आयातबाट ३९ लाख ८९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा छ करोड २३ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
चामलको आयात पनि बढेको छ। गत आवको छ महिनामा २ अर्ब २६ करोड ८९ लाख ९० हजार रुपियाँको चामल आयात भएकोमा चालु आवको सोही अवधिमा २ अर्ब ९२ करोड १७ लाख ९४ हजार रुपियाँको चामल आयात भएको छ। चामल आयातबाट २५ करोड ९८ लाख २९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आवमा ३० प्रतिशतले वृद्धि भई ३३ करोड ८१ लाख ९२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ।
दालको आयात पनि बढेर ८२ करोड १० लाख १५ हजार रुपियाँ पुगेको छ। गत आवको छ महिनामा नेपालगन्ज नाकाबाट ७१ करोड ५५ लाख ५० हजार रुपियाँको दाल आयात भएको थियो।
नेपालगन्ज नाकाबाट आयात हुने चिनी, चामल, दाल र सुती कपडा सबैभन्दा बढी अवैध आयात हुने सामानहरूमा पर्छन्। चालु आवमा तस्करी र अवैध आयातमा कडाइ गरिएकोले वैध आयातमा वृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले अवैध आयात बढेपछि वैध आयात घट्ने गरेको बताएका छन्। उहाँले भने, “अहिले वैध आयात बढ्नुको अर्थ अवैध आयात घटेको नै मान्नुपर्छ।” उहाँले थपे, “माग र खपत बढ्दा पनि आयातमा वृद्धि हुन्छ।”